मन्त्रालय र आयोगका लागि ३१८ राजपत्राङ्कित अस्थायी कर्मचारी मन्त्रीपरिषदद्धारा स्वीकृत

१५ साउन, काठमाडौं । सरकारले विभिन्न आयोग र मन्त्रालयका कर्मचारीका लागि अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।

मन्त्रिपरिषद् बैठकले तीन सय १८ वटा राजपत्राङ्कित कर्मचारीका लागि अस्थायी दरबन्दी स्वीकृत गरेको हो ।

सरकारका प्रवक्ता युवराज खतिवडाले विभिन्न मन्त्रालयका प्रस्तावका आधारमा ती दरबन्दी स्वीकृत गरिएको जानकारी दिएका छन् ।

उनकाअनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रस्तावमा सत्य निरूपण तथा मेलमिलाप आयोगको केन्द्रीय कार्यालयका लागि ३५ जना कर्मचारीको दरबन्दी स्वीकृत भएको हो ।

आयोगकै मुकाम कार्यालयका लागि २१ जना र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका लागि २३ जना कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको खतिवडाले जानकारी दिए ।

कृषि मन्त्रालयका दुई प्रस्ताव स्वीकृत गर्दै मन्त्रिपरिषदले १९ वटा दरबन्दी सिर्जना गरेको छ भने मन्त्रालयकै विभिन्न आयोजनाका लागि दुई सय २० वटा राजपत्राङ्कित पद स्वीकृत गरिएको हो ।