केन्द्रीय कमिटी बैठक बोलाउन १५२ जना केन्द्रीय सदस्यको माग

१४ साउन, काठमाण्डौ । सत्तारुढ नेकपा भित्र देखिएको विवादले केन्द्रीय कमिटी बैठक बोलाउने सम्म पुगेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का १५२ केन्द्रीय सदस्यले केन्द्रीय कमिटी बैठक गर्दै पार्टी कार्यालयमा लिखित पत्र दर्ता गरेका छन् ।

एक महिनाभन्दा लामो समयदेखि जारी स्थायी कमिटी बैठक कुनै निष्कर्षमा पुग्न नसकिरहेका बेला केन्द्रीय सदस्यहरुले केन्द्रीय कमिटी बैठक माग गरेका हुन् ।

पार्टीभित्रको विवादले आफूअरुलाई चिन्तित बनाएको भन्दै अध्यक्षद्वय लाई सम्बोधन गरिएको पत्रमा भनिएको छ, ‘हाल देखिएको सबै विवाद र समस्याहरुको समाधान पाछर्टीको बैठकमा गहन छलफल गरी विधि पद्धति बमोजिम समाधान गर्नुपर्छ भन्ने हाम्रो ठहर छ ।’ यसका लागि पार्टीको अन्तरिम विधान, २०७५ को धारा ५९ (क) ४ बमोजिम बैठक बोलाउनुपर्ने उनीहरुको माग छ ।

यो धाराअनुसार एक चौथाई सदस्यले बैठक माग गरेपछि १५ दिनभित्र बैठक बोलाउनुपर्छ । पार्टी कार्यालयमा दर्ता गरिएको पत्रमा १५० जनाको हस्ताक्षर छ भने धर्मनाथप्रसाद साह र लालबहादुर विकको पनि सहमति रहेको नेताहरुले बताएका छन् ।