लगातार वर्षाका कारण जलजलाको टमिलाखर्क र गौरेटे बस्ती पहिरोको उच्च जोखिममा

१४ साउन, जलजला, टमिलाखर्क, पर्वत । सोमबार र मंगलबार दुई दिनमा लगातार आएको बर्षाका कारण पर्वत जिल्ला जलजला गाउँपालिका–२, टमिलाखर्कका १५ र गौरेटेका ६ घरधुरी पहिरोको उच्च जोखिममा रहेका छन् । पहिरोले कटान गर्न थाले पछि हाललाई ४ घरलाई सुरक्षित स्थानमा सारिएको छ ।

पर्वत जिल्ला जलजला गाउँपालिका वडा नं. २ टमिलाखर्कमा मानवीय बस्ती देखी ५० मिटर तलबाट दुईदिन देखि आएको अविरल वर्षा सँगै पहिरो खस्ने क्रम जारी रहेको छ । संघीय सरकारबाट विनियोजित १ करोड ५० लाख रकमबाट वारिबेनी–बगरफाँट – गौरेटे–बिमिराबोट सम्मको ८ मिटर चौडा नालि सहितको मोटरबाटो निर्माण कार्य जारी रहेको र टमिलाखर्क बस्तीकै १० मिटर तल नेपाल विद्युत प्राधिकरणको दाना कुश्मा करीडोर हाइटेनसनको २४ ब् टावर निर्माण भएको एक वर्ष पछि टावरको तलपट्टीको दुई वटा पिल्लर पहिरोले भासिसकेको छ भने उक्त टावर ढलेको खण्डमा मानवीय तथा धनजनको क्षती हुने निश्चित छ ।

बिद्युत प्राधिकरणले टावर निर्माण पछि स्थानीय कृष्ण बहादुर कार्की र सरस्वती कार्कीले ने.वि.प्रा. दाना कुश्मा करीडोर कुश्मा शाखा र म्याग्दी शाखा तथा जिल्ला प्रशासन कार्यालय पर्वतमा पटक–पटक लिखित तथा मौखिक रुपमा टावरदेखि माथिको भाग भिरालो भएकोले पहिरो रोकथामका लागि वैकल्पिक उपाय बस्ती सुरक्षित राख्नो लागि अनुरोध गरे पनि कुनै सुनुवाई र चासो नदिएको र आज आएर वस्ती नै पहिरोको जोखिम परेकाले पनि त्यति चासो र समाधानको लागि पहल नगरेको स्थानीय सरस्वती कार्कीले कदर न्यूजलाई बताइन् ।

संघीय सरकारबाट बिनियोजित बजेटबाट निर्माणाधिन सडक खण्ड अन्र्तगत टमिलाखर्क मानवीय वस्तीमुनी ८ मिटर फराकिलो सडक बनाइए पनि वस्ती मुनिको भिरालो भागमा पहिरो रोकथामका लागी मेशिनरी वाल, साइडवाल तथा ग्याबिन जाली नलगाई दिनाले अहिले पहिरो खसिरहेको छ भने ५० मिटर माथी रहेका घर वस्ती सम्मकै जमिन चिरा चिरा परि धाँजा फाटिसकेको छ । यसले गर्दा कति खेर के हुन्छ भन्न नसकिने अवस्था छ । केही दिन पहिले म्याग्दीको मराङको जस्तै दैविक विपत्ती नआउला भन्न सकिदैन ।

स्थानीय तथा कदुर न्यूज गण्डकी ब्यूरो कृष्ण बहादुर कार्कीले यस्तो अवस्था बर्षायाममा हुन सक्ने अनुमान गरी रू. १ करोडमा सडक निर्माणको जिम्मा लिई सडक निर्माण गरी रहेका तत्कालिन ठेकेदार प्रविन सापकोटालाई बारम्बार टेलिफोन सम्पर्क र प्रत्यक्ष भेटी टमिलाखर्क मानवीय बस्ती मुनी उचित ग्याविन जाली वा साइडवाल लगाइदिन आग्रह गर्दा पनि ठेकेदार सापकोटाले कुनै चासो नदिएको स्थानीय रामबहादुर कार्की बताउछन् ।
कार्कीका अनुसार बाँकी काम रु. पचास लाखमा सक्ने गर्ने गरी जिम्मा लिएका ठेकेदार अमृत श्रेष्ठले पनी बस्ती मुनीको पहिरो रोकथामको लागी कुनै चासो नदिएपछि नेकपा जिल्ला कमिटी पर्वतका सचिवालय सदस्य लाल बहादुर अधिकारीलाई प्रत्यक्ष सम्पर्क गरी अन्य क्षेत्रमा भन्दा मानवीय बस्ती भएको टमिलाखर्कलाई के कसरी बचाउन सकिन्छ सोको लागी आवश्यक पहल गरिदिन आग्रह गर्दा उँहाले पनि गर्छु भनी आश्वासन मात्र दिएको तर आज बस्ती नै पहिरोको जोखिममा परिसक्दा पनि कुनै काम नभएको अर्का स्थानीय रत्नबहादुर कार्कीले बताए ।

स्थानीयस्तरमा यती ठुला विकास निर्माणको काम सँगै विनास पनि निम्तिदा पनि स्थानीय जनप्रतिनिधीहरूले कुनै चासो नदिएको स्थानीय सरस्वती कार्कीले गुनासो पोखिन ।

टमिलाखर्कको जोखिम पहिरो स्थल अनुगमनका लागी आज सो क्षेत्रमा जलजला २ का वडा अध्यक्ष गोविन्द खत्री, वडा सदस्य प्रकाश जि.सी., निर बहादुर कार्की, प्रहरी चौकी पर्वत वेनीबाट प्रहरी नायव निरीक्षक भरत गौतमको टोली, नेकपा पर्वतका जिल्ला का सचिवालय सदस्य लाल बहादुर अधिकारी, नेपाल विधुत प्राधिकरण दाना कुश्मा करिडोर म्याग्दी शाखाका इन्जिनियर विजय प्रशाद दाश र सा. इन्जिनियर राजेन्द्र प्रशाद न्यौपाने र स्थानीयवासीले संयुक्त रुपमा पहिरोको स्थलगत अनुगमन र निरीक्षण गरेका छन् । पहिरोवाट जलजला २ टमिलाखर्कका १५ घरधुरी र गौरेटेका ६ घरधुरी उच्च जोखिममा रहेको छन् । पहिरोबाट उच्च उजोखिममा रहेका घरहरुका गोर्ख बहादुर कार्की का ५ जना, रत्न बहादुर कार्की ३ जना, सूर्य बहादुर कार्कीका ३ जना र कृष्ण कार्कीको २ परिवारलाई सुरक्षित स्थानमा सारिएको प्रहरी चौकी प्रवत वेनीका प्रहरी नायव निरिक्षक भरत गौतमले हाम्रो गण्डकी ब्यूरो कृष्णबहादुर कार्की मार्फत् कदर न्यूजलाई जानकारी दिएका छन् ।

विकास निर्माणसँगै मानव वस्तीको समेत बिनास हुने गरी बनाई संरचना र विकासका योजना बनाउदा बर्षा सँगै गइरहेको पहिरोबाट वस्ती र मानव जिवनको ख्याल गर्नु जरुरी छ । आज यसैको उदाहरण जलजला २ टमिलाखर्क बनेको छ । वषौंदेखि कुनै पहिरो, बाढी र अन्य विपत्तिको सामना गर्नु नपरेको त्यो टमिलाखर्क एकाएक पहिरोको उच्च जोखिममा परी आफूले बर्षौदेखि बस्दै आएको घर नै छोडेर अनयन्त्र बासका लागि जानु पर्ने बाध्यता आइपरेको छ ।

सो क्षेत्रमा पहिरोका प्रमुख कारक नै सो बस्ती मुनी निर्माण गरीएको बिद्युत प्राधिकरणको टावर निर्माण र सडक विस्तार हो । त्यसैले भोलिका दिनमा यदि सो क्षेत्रमा पहिरो गई बस्ती नै उठ्नु परेको खण्डमा यी दुबै संरचना निर्माण गर्ने निकाय र सम्बन्धित सरोकारवालाले क्षतिपूतिका साथै सुरक्षित अर्को ठाउँको व्यवस्था गर्नु पर्ने छ । त्यसकारण समयमै यसको समाधानको लागि गाउँपालिका, वडा कार्यालय, प्रदेश सरकार र संघीयय सरकारको छिटो भन्दा छिटो ध्यान गई समाधानको विकल्प खोज्न त्यहाँका बसै स्थानीयबासीहरुको अनुरोध छ ।