Breaking News

समिर श्रेष्ठ जनताको पीडा बुझेको प्रतिनिधि

काठमाडौं । सिन्धुपाल्चोक संघर्ष, त्याग र प्रतिरोधको जिल्ला हो । भूकम्प, बाढी–पहिरो, गरिबी र राज्यको बेवास्ता सहँदै आएको यो जिल्ला सधैं शासकहरूको उपेक्षामा प¥यो । यस्तो जिल्लालाई दलाल र ठेकेदार होइन, संघर्षबाट आएका, जनताको पीडा बुझेका प्रतिनिधि चाहिन्छ—समीर श्रेष्ठ त्यही संघर्षको प्रतिनिधि हुन् । समीर श्रेष्ठ जनताबाटै उठेका, जनतामै बाँचेका उम्मेदवार हुन् । उनी कुनै धनाढ्य, ठेकेदार वा सत्ताको छायाँमा हुर्किएको पात्र होइन । श्रमजीवी वर्गको जीवन बुझेका, युवाको भविष्य र जिल्लाको आवश्यकता बुझेका इमानदार नेतृत्व समीर श्रेष्ठ हुन् ।

विप्लव नेतृत्वको नेकपा (माओवादी) राष्ट्रघाती सम्झौताविरुद्ध दृढ अडान लिने शक्ति हो । एमसिसी, साम्राज्यवादी हस्तक्षेप र दलाल पूँजीवादका विरोधी पार्टी हो । नेकपा (माओवादी) का केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक प्रतिनिधि सभा सदस्य क्षेत्र नं. १ का उम्मेदवार समिर श्रेष्ठले संसदमा देशभक्त प्रतिनिधिहरुको प्रतिनिधित्व भएन भने राष्ट्रको अस्तित्व गम्भीर संकटमा जान सक्ने बताएका छन् । देशमा भएको जेनजी आन्दोलनको भावना अनुरुप सरकार निर्माण नभएको बताउँदै संसदमा पनि सोहीअनुरुप प्रतिनिधित्व भयो भने देशको सार्वभौमसत्ता खतरामा पर्ने उनले बताए । यसै कुरालाई मध्यनजर गर्दै नेकपा (माओवादी) यसपटकको चुनावलाई उपयोग गर्न देशभर आफ्ना प्रतिनिधि खडा गरेको उनले बताए ।

श्रेष्ठले भने, ’पार्टीको निर्णय अनुसार देशैभरीबाट इमानदार, देशभक्त प्रतिनिधिहरुको संसदमा प्रतिनिधित्व भएन भने राष्ट्रको अस्तित्व गम्भीर संकटमा जाँदैछ । दलालहरुले जसरी पनि चुनाव जितेर वैधानिक ढंगले संसदबाट देश बेच्ने षड्यन्त्र गरिरहेका छन्, यो षड्यन्त्र रोक्न पार्टीले चुनावमा जाने निर्णय गरेको हो ।’

अग्राधिकार सहितको समाजवादी संघीयता, पूर्ण समानुपातिक प्रतिनिधिसभा, कर्मचारी प्रशासन, अदालत, सुरक्षा, आर्थिक क्षेत्र सबैमा समानुपातिक सहभागिता, नयाँ भूमि व्यवस्था, शिक्षा, रोजगारी, स्वास्थ्यको सुनिश्चितता जस्ता व्यवस्थाले नेपाल वास्तवमै एकीकृत र स्वाधीन बनाउने प्रस्तावसहित नेकपा (माओवादी) चुनावमा होमिएको उनले प्रष्ट्याए ।

प्रतिनिधिसभा सदस्य उम्मेदवार श्रेष्ठले पार्टीले निरन्तर भ्रष्टाचार, एमसीसी, जनघात, राष्ट्रघात, करछली, मानवतस्करका विरुद्ध र समाजवादको पक्षमा संघर्ष गरेकाले जनताले पार्टीलाई जिताउने विश्वास व्यक्त गरे । साथै उम्मेदवार श्रेष्ठले जनताले नयाँ विकल्प खोजेकाले आफ्नो पार्टी वास्तविक नयाँ भएको समेत जिकिर गरे ।

विप्लव नेतृत्वको नेकपा (माओवादी)ले पहिलोपटक संसदीय निर्वाचनमा भाग लिँदैछ । गुलावको फूल चुनाव चिन्ह लिएर निर्वाचनमा होमिएको माओवादीले चुनावबाट आफ्नो पक्षमा नतिजा निकाल्ने दाउमा छ ।