३ मंसिर, जनकपुरधाम । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डललाई पद अनुकूल आचरण नगरेको प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको छ । बुधबार बसेको मधेश प्रदेश सभाको बैठकले सो प्रस्ताव उपर छलफल गर्दै मत विभाजन प्रक्रियामार्फत दुई तिहाइ बहुमतले पारित गरेको हो । यो सँगै उनी पदमुक्त भएका छन् ।
प्रस्तावको पक्षमा ७६ मत परेको उल्लेख गर्दै उपसभामुख बबिताकुमार राउत ईशरले प्रदेश सभा बैठकमा पदमुक्त भएको घोषणा गरेकी
हुन् । उनका अनुसार प्रदेश सभा बैठकमा ७८ सांसदको उपस्थित थियो ।
गत २७ कात्तिकमा सभामुख मण्डलमाथि पद अनुकूल आचरण नगरेको भन्दै सात दलीय गठबन्धनका ६४ जना प्रदेश सांसदहरूले प्रस्ताव दर्ता गराएका थिए । सो प्रस्ताव उपर आज छलफलका लागि उपसभामुख ईशरको निर्देशनमा बैठक डाकिएको थियो ।
बैठकमा नेकपा एमालेबाट भने एकजना प्रदेश सांसद सुरुको बैठकमा उपस्थित भए पनि स्थगित भए पश्चात पुनः सुरु भएको बैठकमा कोही उपस्थित थिएनन् ।

