Breaking News

हरितालिका तीज आज दर खाएर मनाइँदै भोलि निराहार व्रत बसेर पुजाआजा

९ भदौ, काठमाडौं । नेपाली महिलाहरुको पर्वको रुपमा मानिएको हरितालिका तीज भोलि १० गते पुजाआजा र महिलाहरुले वर्त बस्ने दिन तर आज अघिल्लो दिन दर खाएर मनाइँदै छ । दर खाने दिन परिवार, इष्टमित्र र छिमेकी भेला भएर विभिन्न परिकार खाँदै रमाइलो गर्ने चलन छ ।

आज मिठामिठा खानेकुराका साथै रमाईलो गरेर दर खाने र भोलि तीजको दिन कोही निराहार व्रत बस्छन् भने कोही फलफुल, पानी, चिया खाएर पनि वर्त बस्दछन् ।

हरितालिका तीजको अघिल्लो दिन आज एक दिन मात्र दरखाने परम्परा रहे पनि आजभोलि त एक महिना अघिदेखि नै दर खाने भनेर महिलाहरुले विभिन्न पार्टी प्यालेस, रेष्टुरेन्ट र घरमै जम्मा भएर दिनहुँ दरपार्टी मनाइरहेका देखिन्छन् । यो चलन शहरबजारमा मात्र नभएर अहिले त गाउँगाउँमा समेत पुगिसकेको छ ।

परापूर्व कालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ विवाहित महिलाहरु पतिको सुवास्थ्य र दीर्घायूको कामना गर्दै तथा अविवाहिताहरु सुयोग्य बर पाउने कामना गर्दै तीजको व्रत बसी शिवको पूजा गर्ने चलन छ । तीजको दिन काठमाडौंको पशुपति लगायतका देशभरका शिवालयहरुमा व्रतालुको घुइँचो लाग्दछ ।

पूजाआजा पछि महिला र पुरुषहरु भेला भएर तीज भाकाका गीत गाएर नाच्ने समेत गर्दछन् ।
तीजको रौनक खास गरेर आज आज दरखाने दिनदेखि हुने भएपनि यो क्रम एक महिना अघिदेखि नै सुरु भइसकेको छ। पहिलो दिन आज सोमबार व्रतालु महिलाले दर खान्छन् भने दोस्रो दिन भोलि तीजको मुख्य दिन हो । यस दिन व्रतालुले निराहार व्रत बसेर भगवान् शिवको पूजाआराधना गर्छन् ।