काठमाडौं । मन्त्री हेरफेर लगायत सरकारका कामकारवाही बारे छलफल गर्न सत्तारुढ प्रमुख दल एमाले र नेपाली कांग्रेसका शीर्ष नेता बालुवाटारमा भेला भएका छन् ।
बालुवाटारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक तथा एमाले उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट लगत्तै मन्त्रीहरू हेरफेर गर्ने सोच बनाए पनि नेपाली कांग्रेसले निर्णय नगर्दा ढिलाइ भएको थियो । आजको छलफलमा मन्त्री हेरफेर बारे प्रधानमन्त्रीले कांग्रेस सभापति देउवाको स्पष्ट धारणा माग्नेछन् । नेपाली कांग्रेसले भने मन्त्रीहरू फेर्दा पार्टीमा किचलो बढ्न सक्ने भन्दै आफ्नो पार्टीका अहिले भएकै मन्त्रीहरुलाई निरन्तरता दिने सङ्केत गरेको छ ।
यदि बालुवाटार छलफलमा देउवाले आफ्नो पार्टीका मन्त्री नफेर्ने अडान राखे एमालेका केही मन्त्री फेर्न ओलीलाई बाटो खुल्ने छ । एमालेभित्र प्रधानमन्त्री ओलीलाई विवादित र कार्य सम्पादनमा कमजोर देखिएका मन्त्रीहरू परिवर्तन गर्न दबाब छ ।

