‘बिरामी, आपत वा हतार हुँदा सार्वजनिक यातायात कहिल्यै पाइँदैन,’ यो आम नागरिकको गुनासो हो । झन् बिहान र बेलुका त कुरा नगरौं । कार्यालय समयमा जोखिमपूर्ण यात्रा गर्न बाध्य हुने गरेका छन् नागरिकहरु । आइतबार बिहान ११ काठमाडौंको रत्नपार्कमा सार्वजनिक यातायात कुरिरहेका मानिसहरुको लाम थियो । कोही बिरामी पनि थिए त कोहीसँग बालबच्चा साथमा थियो । त्यस्तै, बुढाबुढी पनि देखिएका थिए । त्यति बेला पनि कार्यालय वा कलेज जानेहरु गाडी कुरि नै रहेका थिए ।
हामी सार्वजनिक यातायातमा यात्रा गर्ने सर्वसाधारण घाम पानी नभनी गाडी कुछौं । बल्लतल्ला दश मिनेटदेखि आधा घण्टासम्म कुरेर गाडी त आउँछ तर खुट्टा टेक्ने ठाउँ हुँदैन । काठमाडौं उपत्यकाभित्र जुनसुकै रुटमा भाडाको गाडी पाउन गाह्रो छ । गाडीमा सिटको आशा परको हो, झुण्डिने ठाउँ मात्र भएपनि कत्रो ठुलो हुन्छ हामीहरुलाई । यहाँ देशभरका नागरिक शिक्षा, स्वास्थ्य, रोजगारीका लागि बस्दै आएका छन् । त्यस्तै, कोही नातेदार, आफन्त वा बिरामी भेटघाट गर्न पनि गाउँघरबाट यहाँ आउने गरेका छन् ।
काठमाडौं नेपालको राजधानी पनि हो । त्यसैले, विदेशी पर्यटकहरु समेत यहाँ घुमफिरका लागि आउने गरेका छन् । विडम्बना, विदेशीहरु पनि थोत्र्रा, पुराना र कोचाकोच गाडीमा यात्रा गर्न बाध्य भएका छन् । अहिले सञ्चालनमा रहेका सार्वजनिक यातायातहरु थोत्र्रा, पुराना भइसकेका छन् । यी गाडीहरु कबाड अवस्थामा पुगेका छन् । तर, यातायात व्यवसायीहरु यस्तो गाडी चलाएर आफु कमाउँछन् अनि यात्रुको ज्यान जोखिममा पार्छन् । सहचालक, चालक गाडी सफा गर्दैनन् । यात्रुसँग भाडा मात्र असुल्छन्, त्यो पनि तोकिएभन्दा बढी ।
अहिले सार्वजनिक यातायातमा चढ्दा कुहिएकोजस्तो गन्ध आउँछ । पानी पर्दा यात्रुको कपडा नै झिज्छ । किनकि गाडीमा झप्यालको सिसा नै हुँदैन । यता, गाडीको सिटहरु पनि भाँचिएको छ । अनि यात्रु बस्दा लँड्ने, लुगा च्यातिनेजस्ता समस्या हुने हुन्छ । सहचालक, चालकहरु पनि यात्रुसँग राम्रो बोलीवचन गर्दैनन् । उनीहरु पनि यात्रुलाई थर्काउने अथवा अपशब्द प्रयोग गरी गालीगलौज समेत गर्छन् । अहिले उपत्यकाभित्र चलिरहेका ट्याक्सी, ग्याँस ट्याम्पो, माइक्रो बस, बसहरु २४ वर्षदेखि ३१ वर्षसम्म पुरानो छ ।
उपत्यकाभित्रको सार्वजनिक यातायातको त अवस्था यस्तो छ भने उपत्यका बाहिरको जिल्लामा के होला ? बाहिरी जिल्लाका जनताले सार्वजनिक यातायातबाट कति सास्ती भोगिरहेका होलान् ? यसको कुनै पनि लेखाजोखा नै छैन ।
कानूनमा सिटभन्दा बढी यात्रु हाल्न पाइँदैन अथवा बिल बुकभन्दा लेखिएभन्दा बढी यात्रु हाल्न पाइँदैन । तर, माइक्रो बसमा बिल बुकमा १२ देखि १३ जना लेखिएपनि यात्रु भने २७ जनासम्म हालिन्छ । सरकारले लोकल गाडीको भाडा एक किलोमिटरबाट पाँच किलोमिटरसम्म १९ रुपैयाँ तोकेको छ।
तर, यातायात व्यवसायीहरु आधा किलोमिटरमै यात्रुसँग २५ रुपैयाँ असुल्छन् । भाडा थाहा नभएका यात्रुलाई झनै ठग्छन् । यता, विद्यार्थी, ज्येष्ठ नागरिक, अपांगहरुलाई समेत भाडा छुट दिइँदैन । बालबच्चाको पनि भाडा लिइन्छ । कुनै झोला वा सामान भएमा त्यसको पनि भाडा लिन्छन्, यातायात व्यवसायीहरु । छोटो या लामो रुटमा चल्ने सार्वजनिक सवारीसाधनले लक्षित वर्गलाई भाडा छुट दिएपछि राज्यले वार्षिक करमा ४० प्रतिशत छुट दिएको हुन्छ । यातायात व्यवसायीहरु राज्यसँग त कर छुट लिन्छन् तर लक्षित वर्गलाई भाडा छुट दिँदैनन् । लामो रुटमा चल्ने गाडीले त सुपर डिलक्सको नाममा यात्रुसँग तोकिएभन्दा ४० प्रतिशत बढी भाडा लिन्छन् ।
त्यो पनि थोत्र्रा, पुराना गाडी चलाएर । कानूनमा सुपर डिलक्सको भाडा तिर्न सरकारको मापदण्डभित्र पर्नुपर्छ । यहाँ त मापदण्डभित्रै नपरेका माइक्रो बस, जम्पो हायस, टाटा समूहले सुपर डिलक्सको नाममा यात्रुसँग बढी भाडा असुलिरहेका छन् । अर्कोतर्फ, मापदण्डभित्र परेका गाडीले पनि दर्ता भएको मितिले तीन वर्ष पुगेपछि सुपर डिलक्सको नाममा यात्रुसँग भाडा लिन पाइँदैन । तर, यहाँ त दर्ता भएको मितिले २० वर्ष पुगिसकेका गाडीले पनि सुपर डिलक्सको नाममा यात्रुसग भाडा असुलिरहेका छन् ।
यता, दर्ता भएको मितिले छ वर्ष पुगेपछि त्यस्ता सवारीसाधन रातको समयमा चलाउन पाइँदैन । यातायात व्यवसायीहरुको कानूनको धज्जी उडाउँदै छ वर्ष कटिसकेका सवारीसाधन पनि रातको समयमा चलाएर यात्रुको ज्यान जोखिममा पारिरहेका छन् । कानूनमा २० वर्ष पुगेसकेका गाडी पत्रु वा लत्ताकट्टा गर्नुपर्ने अनिवार्य व्यवस्था छ । यद्यपि, यातायात व्यवसायीहरु अहिले पनि २० वर्ष कटेका सवारीसाधन चलाइरहेका छन् । आफ्नो ज्यानै जोखिममा राखेर त्यस्ता गाडीमा चढ्न सर्वसाधारण भने बाध्य भएका छन् ।
हामी नागरिकलाई एक मिनेट पनि महत्त्वपूर्ण छ । तर, भाडाको गाडी पाउन बस स्टकमा दश मिनेटदेखि घण्टौं कुर्नुपर्छ । ट्याक्सीमा पनि यस्तै छ । ट्याक्सी चालकहरु यात्रुले भनेको ठाउँमा जान मान्दैनन् । चक्रपथबाहिर ट्याक्सी जाँदैन ।
सरकार भक्तपुर, ललितपुर र काठमाडौंलाई उपत्यका भन्छ । विडम्बना, राजधानीबाहेक भक्तपुर र ललितपुरमा समेत ट्याक्सी पाउन गाह्रो छ । झन् चक्रपथबाहिरका जनताले त ट्याक्सी समेत देख्न पाएका छैनन् । अहिले भक्तपुरकै सूर्यविनायकमा ट्याक्सी पाइँदैन ।
ट्याक्सी नहुँदा यहाँका जनता निजी प्लेटको सवारीसाधनमा यात्रा गर्न बाध्य छन् । निजी प्लेटको सवारीसाधनले यात्रुसँग चर्को भाडा असुल्दै आएको छ । फेरि यस्ता सवारीसाधनले राज्यलाई राजस्व समेत तिर्दैनन् । सरकारले ट्याक्सीको रोडपर्मिेटमै उपत्यकाभित्रको जुनसुकै रुटमा चल्न पाइने भनेर लेखिदिएको हुन्छ । तर, ट्याक्सी चक्रपथबाट जान मान्दैन । केही गरी मानिहाले पनि चालकले भनेजति पैसा तिर्नुपर्छ यात्रुले ।
ट्याक्सी चालकहरु नजिक पनि यात्रु बोक्न मान्दैनन् । चाँहे त्यो बिरामी नै किन नहोस् । सरकारले ट्याक्सीको भाडामा सुरुमा ५० रुपैयाँ र प्रत्येक किलोमिटर ५० रुपैयाँ तोकेको छ । तर, ट्याक्सी चालकहरु एक किलोमिटरमै पाँच सय रुपैयाँसम्म माग्छन् । पठाओमार्फत ट्याक्सी चढ्दा सुरुमै १७७ रुपैयाँ तिर्नुपर्छ । यो गैरकानूनी हो । ट्याक्सीले राति ९ बजेदेखि बिहान ४ बजेसम्म डेरी हिर्काउँछ । ट्याक्सी चढेबापत सर्वसाधारणले सुरुमा नै तिर्नुपर्ने ५० रुपैयाँले एक दिनमै सात करोड रुपैयाँ सेवाशुल्क तिर्नुपर्छ ।
अहिले उपत्यकाभित्र नौं हजार ट्याक्सी सञ्चालनमा छन् । जनसंख्या भने करोडभन्दा माथि छ । उता, हरियो र कालो प्लेटको ट्याक्सी, फो स्टक ट्याम्पो, ढुवानी गाडी र माइक्रो बसहरुको लामो समयदेखि नयाँ दर्ता बन्द छ । चार दशकदेखि यो क्षेत्रमा सिण्डिकेट छ । अहिले पनि यातायात व्यवसायीहरुले २० वर्ष पुरानो गाडीको स्क्राइभ गरेको नम्बरप्लेटमा नयाँ गाडी किनेर दर्ता गरिरहेका छन् । यसले नयाँ व्यवसायी थपिन पाएका छन् । सीमित व्यक्ति वा व्यवसायीहरुकै यो क्षेत्रमा रजगज चलिरहेको छ ।
२०३१ सालदेखि अहिलेसम्म सट्टाभर्नामै गाडी ल्याइएको छ । यसले भाडाको गाडीको नयाँ दर्ता खुलेको छैन भने संख्या पनि बढ्न सकेको छैन । यता, जनसंख्या पनि दिनानु बढ्दै गएको छ । यातायात व्यवसायीहरुले भाडाको गाडीमा गरेका लगानी तीनदेखि चार वर्षदेखि उठाउँछन् । अहिले पनि २० वर्ष पुरानो ट्याक्सीको स्क्राइभ गरेको नम्बर प्लेट ८० देखि ९० हजारसम्ममा किनबेच भइरहेको छ । यदि सरकारले नयाँ ट्याक्सीको दर्ता खोलिदिए यो नम्बरप्लेट सित्तैमा पाइन्छ । त्यसैले, अब सरकारको यसतर्फ पनि ध्यान जाओस् ।