२० माघ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश राम्रोसँग चलेको जस्तो नलागे पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक प्रक्रियाबाट आफैं प्रधानमन्त्री बन्न सक्ने बताएका छन् ।
शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै शासन प्रणाली ठीक ढंगले चलेको छैन र मुलुक राम्ररी चलाउन सकेनन् भन्ने लागेको भए नेता भएर चुनाव लड्न र प्रधानमन्त्री बन्न सुझाव दिएका हुन् ।
नेता नेपालले अगाडि भने, ‘अहिले राष्ट्रपति हुने मान्छेको अभाव भएर होइन । काम गर्ने भनेको प्रधानमन्त्रीले हो, प्रधानमन्त्रीसँगको यदि विवाद हो भने प्रधानमन्त्री बन्न चाहनुहुन्छ भने आउनुस् ।’
अहिलेका समस्या समाधान गर्न गम्भीर विचार मन्थन जरुरी रहेको भन्दै उनले असन्तुष्ट भएर मात्र समस्या समाधान नहुने बताए ।
‘हाम्रो पार्टी, हाम्रो मुलुकमा विद्यमान स्थितिको बारेमा गम्भीर छ । अहिलेको स्थितिसँग हामी सन्तुष्ट छैनौं । तर असन्तुष्ट मात्रै भएर पनि केही हुँदैन । असन्तुष्टि समस्याको समाधान होइन । समस्याको समाधान भनेको खोजेर पत्ता लगाउने हो । समस्याका कारण पत्ता लगाउनुपर्छ’, उनले भने ।