काठमाडौं । पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको उनको सचिवालयले जनाएको छ ।
ललितपुरस्थित मेडिसिटी अस्पतालको आइसीयूमा उपचाररत नेम्वाङको स्वास्थ्यमा दिनहुँ क्रमिक रुपमा सुधार भइरहेको उनका स्वकिय सचिव गणेश योञ्जनले जानकारी दिए ।
चिकित्सकका अनुसार एमआरआई गर्ने क्रममा उनको मस्तिष्कको देब्रे भागको धमनीमा रगत जमेको देखिएको थियो । जसलाई चिकित्सकीय भाषामा ‘ब्रेन स्ट्रोक’ भनिन्छ ।
ब्रेन स्ट्रोक पुष्टि भएपछि चिकित्सकहरुले उनको उपचार सुरु गरेका थिए । उनको शरीरको दायाँ भाग चलिरहेको छैन । बिरामी परेपछि बोली पनि बन्द भएको थियो । तर, अहिले कहीमात्रामा उनी बोल्न थालेका छन् ।
एमाले ताप्लेजुङको सचिवालय बैठकका लागि फुङलिङ पुगेका पूर्व भौतिकमन्त्री नेम्वाङ गत बुधबार बसेकै ठाउँमा एक्कासि ढलेका थिए । फुङलिङमा एक्कासि बिरामी परेपछि उनलाई हेलिकप्टरमार्फत मेडिसिटी ल्याइएको थियो ।