प्रदेश संसदीय दलको नेता एकाएक घटाईपछि नेकपा माओवादी केन्द्र सुदूरपश्चिममा रडाको

कैलाली । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई चयन गरेपछि माओवादी सुदूरपश्चिममा रडाको उत्पन्न भएको छ ।

माओवादी केन्द्र सुदुरपश्चिमले दलको नेता बनाउँदा प्रदेशसभाका ६ जना सदस्यले निर्णय गरेका थिए ।

त्यसपछि माओवादी प्रदेश समितिले तत्काल उक्त निर्णय सच्चाउन संसदीय दललाई निर्देशन दिएको छ । पदाधिकारीको बैठकले पार्टीको विधि विपरीत र केन्द्रीय कार्यालयको निर्देशनसमेत अवज्ञा गरेर दलको नेता हटाएको भन्दै तत्काल उक्त निर्णय सच्चाउन निर्देशन दिने निर्णय गरेको हो ।

सुदूरपश्चिम प्रदेशका सबै जिल्ला संयोजक र इन्चार्जलाई पदाधिकारी बैठकले गरेको निर्णयसमेत परिपत्र गरिएको छ ।

प्रदेश अध्यक्ष हरिराम चौधरी उत्सव र सचिव जनकबहादुर बुढाले हस्ताक्षर गरेर जारी गरिएको परिपत्रमा संसदीय दलको नेता खगराज भट्टको जानकारी विना उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा बसेको बैठकले दलको नेता परिवर्तन गरेको र सरकार परिवर्तन गर्ने भन्ने कुरामा गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

सुदूरपश्चिमा माओवादीको ११ जना प्रदेशसभा सदस्य रहका छन् । जसमा एक जना सभामुख छन् । मानबहादुर धामी, अक्कल रावल, ओमविक्रम भाट सरल, गीता देवी माल लक्ष्मी विक र शिवसिंह ओलीले धामीलाई दलको नेता बनाउने निर्णयमा हस्ताक्षर गरेका छन् ।

बैठकमा खगराज भट्ट, झपट साउद, रमेश धामी र जनकी देवी कुवर भने उपस्थित भएनन् । अहिले उक्त निर्णयले माओवादी भित्र तीव्र विवाद उत्पन्न भएको छ ।