आज काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा

१२ माघ, काठमाडौं । माघ लागेपछि बढ्न थालेको चिसो माघ १५ हुन लाग्दा पनि घट्नुको साटो अझै बढ्न थलेको छ । चिसो बढ्ने क्रममा आज काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झरेको छ । त्यसैले अघिल्ला दिनको तुलनामा आज बढी चिसो महसुस भएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हिजो बिहीबार बेलुका गरेको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको जनाएको छ । यो यस वर्षको हिउँदयाममा अहिलेसम्मकै कम तापक्रम हो ।

यसअघि यही माघ ८ गते साँझ काठमाडौंको न्यूनतम तापक्रम ३.२ डिग्री सेल्सियस मापन भएको थियो ।

आज शुक्रबार बिहान पौने ६ बजे भने काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस छ । महाशाखाले तापक्रमको पछिल्लो अपडेट हरेक दिन बिहान पौने ९ बजे र बेलुका पौने ६ बजे सार्वजनिक गर्दछ ।