Breaking News

साइकल यात्रीलाई मुक्का प्रहार गर्ने व्यक्ति पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका-४ स्थित दूधफारम चोकनजिकै एक साइकल यात्रीलाई मुक्का प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् ।

साइकल यात्रीलाई मुक्का हानेर लडाएको भिडियो भाइरल बनेपछि मोरङ प्रहरीले विराटनगर ४ का १९ वर्षीया आयुष भेटवाललाई पक्राउ गरेको हो । घटनामा संलग्न अरु २ जना फरार रहेकाले उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएके छ ।

प्रहरीको अनुसार असार २० गते राति कोसी राजमार्गमा निजी गाडीबाट ओर्लिएर भेटवालले साइकल यात्रुलाई विराटनगर–६ बस्ने पवन साहलाई मुक्का हानेर ढलाएका थिए । त्यसपछि बेहोस भएका साहलाई अमानवीय ढंगले सडकमा घिसारेर पल्लो छेउ पुर्याएका थिए ।

भेटवाललाई पक्राउ गरिएको र अदालतबाट म्याद थप गरी ज्यान मार्ने उद्योग कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी दिपक पोखरेलले जानकारी दिए ।

पीडित साहले आफू फ्याक्ट्रीमा काम गरेर साथीसँगै साइकलमा घर फर्कने क्रममा भेटवालले निजी गाडीबाट एक्कासी उत्रिएर मुक्का हानेर बेहोस बनाएको बताए ।

बा१५च ३४४५ नम्बरको कारमा सवार भेटवालले साहमाथि आक्रमण गरेको र उनका मतियारहरुको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ ।