हिरासतबाटै देउवालाई धम्काएर प्रदेश मन्त्री नियुक्ति गर्न भ्याए खाणले

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका कांग्रेस नेता बालकृष्ण खाणले हिरासत भित्रैबाट चलखेल जारी राखेका छन् । एकातर्फ अदातलबाट धरौटीमा छुट्ने उनको चलखेल छ भने अर्काेतर्फ पार्टीभित्र पनि आफ्नो प्रभाव कायम राख्ने प्रयास छ ।

पार्टी नेतृत्वलाई धम्काउनकै लागि उनले पक्राउ परेको छैंटौं दिन मात्र प्रहरीलाई बयान दिएका थिए । छैंटौं दिन पनि पूरा बयान गरेनन्, बयानमा अन्य व्यक्तिको नाम पोलिदिने भन्दै उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई सन्देश पठाएपछि देउवा पनि झस्किएका छन् । त्यही कारण कांग्रेसले उनलाई निलम्बन गर्न नसकेको सूत्रको भनाइ छ ।

उता हिरासतबाटै देउवालाई धम्की दिएर उनले आफु निकटस्थलाई प्रदेशमा मन्त्री नियुक्त गराइरहेका छन् । सोमबार लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार गरिएको छ । जसमा खाणको कोटाबाट दाङका राजु खनाल स्वास्थ्यमन्त्रीमा नियुक्त भएका हुन् । खनाल बालकृष्णको कोर टिमका नेता हुन् । खाणकै जोडमा मन्त्री भएको स्रोत बताउँछ । खनाल केही दिनअघि खाणलाई भेट्न टेकुस्थित प्रहरी परिसर गएका
थिए ।

त्यसो त खाणलाई छुटाउन उनका निकट नेताहरू मात्र होइन, केही प्रहरी अधिकारी नै लागेका छन् । निकट नेताहरू महेन्द्र यादव, जन्मजय तिमल्सिना, रामहरी खतिवडा मात्र होइन खाण गृहमन्त्री हुँदा फाइदा लुटेका प्रहरी अधिकारीहरू उनलाई जोगाउन लागिपरेका छन् । भित्री रुपमा उनीहरूले खाणलाई सघाएका छन् । प्रहरी अनुसन्धानका एक–एक सूचना खाणलाई पु¥याएका थिए । सूचना चुहिएकै कारण अदालतबाट पक्राउ पूर्जीसमेत जारी नभई खाणलाई प्रहरीले बिहानै पक्राउ गरेको थियो ।

स्रोतका अनुसार बयानमा समेत केही प्रहरीले सघाएका थिए । प्रहरीकै सुझावमा उनले मोबाइलबाट विवरण समेत डिलिट गरेको स्रोत
बताउँछ । मोबाइल रिकभर गर्दा पनि उनको मोबाइलबाट त्यससम्बन्धि प्रमाण जुट्न सकेन । प्रहरीलाई धम्काएरै उनले पत्नी मञ्जुलाई अनुसन्धानबाट जोगाएका छन् ।

यति ठूलो मुद्दामा परेर पनि खाण अझै राजनीतिमा फर्कने दाउमा छन् । त्यसका लागि उनले गृहमन्त्री हुँदा कमाएको सम्पत्तिसमेत अहिले खर्च गर्न थालेका छन् । गृहमन्त्रीका रुपमा उनले करोडौँ कमाएको निकटस्थहरूको चर्चा छ । खाणले २८ करोडमा निकटस्थको नाममा शेयर किनेको स्रोत बताउँछ ।