राहदानी विभागको ‘सफ्टवेयर इरर’ कि सरकारलाई असहयोग गर्ने कर्मचारीको नियत ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेलगत्तै पासपोर्ट र लाइसेन्स वितरणका लागि हुने भीड हटाउने गरी काम गर्न मातहत मन्त्रालय र सचिवहरूलाई निर्देशन दिए । मन्त्रिपरिषद्को पहिलो निर्णय नै सोही विषयमा केन्द्रित रहेपछि उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले समेत राहदानी विभागमा अनुगमन गरे ।

प्रधानमन्त्रीको निर्देशनपछि पनि राहदानी विभागमा भएको लाइन हट्न सकेन । दैनिकरुपमा पासपोर्ट बनाउन आउने सेवाग्राहीको सङ्ख्या बढेपछि लाइन थप चर्को बन्यो ।  दैनिक १ हजार ८ सयलाई सेवा दिन सक्ने क्षमता भएको राहदानी विभागमा दैनिक ६ हजारको हाराहारीमा सेवा लिन खोज्नेहरू आएपछि विभागमा भीड बढेको विभागकी निर्देशक दुरपदा सापकोटाले बताइन् ।

प्रधानमन्त्री दले मंगलबार मात्रै पनि नेपाल सरकारका सचिवहरूलाई ३० बुँदे निर्देशन दिएर समस्या कहाँ छ ल्याउन र आवश्यक परे नीतिगत सुधारको योजना समेत बनाउन निर्देशन दिए । सोही क्रममा प्रधानमन्त्री दाहालले राहदानी विभागमा सेवाग्राहीको लामो लाइन लागेको र सेवाग्राहीले दुख पाइरहेको कुरा दोहोर्‍याए । विभागीय सचिवलाई निर्देशन दिँदै तत्कालै लाइन लाग्न नपर्ने व्यवस्था गर्न निर्देशन दिए ।

तर प्रधानमन्त्री प्रचण्डले सचिवहरूलाई निर्देशन दिएकै दिन साँझ राहदानी विभागकी निर्देशक सापकोटा हस्ताक्षरमा एक सार्वजनिक सूचना जारी भयो । सिस्टममा समस्या आएको कारण राहदानी छपाई तथा वितरणमा समस्या आएको कारण समयमै पासपोर्ट उपलब्ध गराउन नसकिने ब्यहोराको सूचना जारी भएपछि सेवाग्राहीमा अन्योल र आक्रोश निम्तियो । सरकारले थप निर्देशन दिएकै दिन ‘सिस्टम डाउन’ गराएको आरोप लाग्यो ।

रातोपाटीबाट