अध्यक्ष केपी शर्मा ओलीले केही समयअघि पिएचडीबारे दिएको अभिव्यक्तिबारे स्पष्टीकरण

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही समयअघि पिएचडीबारे दिएको अभिव्यक्तिबारे स्पष्टीकरण दिएका छन्।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भाइरल भएको एक अभिव्यक्तिबारे स्पष्‍टीकरण दिएका हुन्।

उनले एक युवा विद्यार्थीसँगको कुराकानीमा पिएचडी केबल एक विषयको थेसिस लेख्ने मात्रै भएको भन्ने अभिव्यक्ति भाइरल बनेको थियो।

यसरी ओलीले पिएचडीबारे टिप्पणी गरेपछि आलोचना समेत भएको थियो।

‘हुन चाँहि केही हुने होइन है, पिएचडी गर्दा सिंहजुरो पलाउने चाँहि होइन। एउटा विषयको थेसिस न हो त्यो। त्यसलाई के-के न ठान्छन्। मुर्खहरूको जवाना छ। स्पेसियलिजम भन्ने केही न केही हो,’ उनले भनेका थिए।

यसबारे आइतबार स्पष्टीकरण दिँदै उनले संसारमा ज्ञानको सागर हो भनेको बताए। उनले ती युवाले पिएचडी गरेकाले बधाई समेत दिएको र सिक्न अझै धेरै बाँकी छ भन्ने कुरा बताएको पनि बताए।

‘पढे-लेखेको बाबु आउनुभयो। बहुत राम्रो, बधाई छ। तर बल्ल अब तपाईंको सिक्ने आधार बन्यो। एउटा विषयमा तपाईले केही रिसर्च गर्नुभयो। एउटा सानो विषय न पढिन्छ,’ उनले भने,‘ सानो विषय पढ्नुभयो। संसार पढ्न बाँकी छ। संसार भनेको ज्ञानको अथाहा सागर हो। यसबाट अलिकतिमात्रै सिक्न सक्छौं हामी। जे सुकै विषय पढेपनि।’

ज्ञान हासिल गरेको भन्दै घमण्‍ड गर्न नहुने पनि उनले बताए।

‘म जान्ने भएँ भनेर घमण्ड पसाउनुभयो भने फेरि केही पनि सिक्नुहुन्न। केही पनि सिक्न नसकेपछि, ज्ञान भनेको खोलाको पानी जस्तै हो। तपाईंले त्यहाँ पानीमा हात चोप्नुस् त्यो पानी बगेर जान्छ। अर्को पल्‍ट फेरि हात चोप्दा त्यो पानीमा चोप्न सक्नुहुन्न तपाईं। अर्कै पानी माथितिर आइसक्छ। ज्ञान त्यस्तै हो,’ उनले भने।