सत्ता गुमाएको कांग्रेसले २२ गते केन्द्रीय कार्यसमितिको बैठक आह्वान ३ वटा एजेण्डा तय

संसदको सबैभन्दा ठूलो दल बनेर पनि सत्ता गुमाउन पुगेको नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ । पार्टीभित्र बैठकको माग भइरहेको बेला सभापति शेरबहादुर देउवाले पुस २२ गतेका लागि केन्द्रीय समितिको बैठक आह्वान गरेका हुन् ।

कांग्रेसले माओवादीसँग सत्ता सहकार्यबारे सहमति नजुट्दा नाटकीय रुपमा सत्ता नै गुमाउने अवस्था आएको थियो । नेतृत्वको सुझबुझपूर्ण निर्णय हुन नसक्दा पार्टीले सत्ता गुमाएको भन्दै तीव्र असन्तुष्टि भइरहेको बेला बैठक बोलाइएको हो । बैठकमा यस विषयलाई जोडतोडका साथ उठाउने असन्तुष्ट पक्षको तयारी छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले पुस २२ गते  दिउँसो १ बजे सानेपामा बैठक बस्ने तय भएको जानकारी दिँदै  उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई खबर गरिएको बताए ।

उनका अनुसार बैठकमा प्रस्तुत हुने ३ वटा एजेण्डा तय भएका छन् । जसमा  प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन—२०७९ को समीक्षा, समसामयिक राजनीति विषय र  विविध रहेका छन् ।