२९ मंसिर, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन परिणामसहितको प्रतिवेदन आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने भएको छ ।
आयोग पदाधिकारीले आज बिहान १० बजे राष्ट्रपति भण्डारीलाई भेटेर प्रतिवेदन बुझाउन लागेको हो ।
आयोगले निर्वाचनको प्रतिवेदन बुझाइसकेपछि नयाँ सरकार गठनको तयारी तीव्र हुनेछ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि ८६ वटा राजनीतिक दल दर्ता भएका थिए । जसमध्ये प्रत्यक्षतर्फ ६१ र समानुपातिक निर्वाचन प्रणालीतर्फ ४७ वटा राजनीतिक दल निर्वाचनमा सहभागी भएका थिए ।
प्रतिनिधि सभामा नेपाली कांग्रेस पहिलो दल बनेको छ । कांग्रेसले प्रत्यक्षमा ५७ र समानुपातिकबाट ३२ सहित कूल ८९ सिट जितेको छ । दोस्रो दल बनेको नेकपा एमालेले प्रत्यक्षमा ४४ र समानुपातिकमा ३४ सहित ७८ सिट जितेको छ । तेस्रो दल बनेको माओवादी केन्द्रले प्रत्यक्षमा १८ र समानुपातिकबाट १४ सहित ३२ सिट जितेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चौथो, राप्रपा पाँचौं, जसपा छैटौं र जनमत पार्टी सातौं दल बनेका छन् । रास्वपाले प्रत्यक्षमा ७ र समानुपातिकमा १३ सहित कूल २० सिट जितेको छ ।
प्रत्यक्ष र समानुपातिकमा समान ७/७ जितेको राप्रपाका कूल १४ सांसद रहने छन् । जसपाका प्रत्यक्षमा ७ र समानुपातिकबाट ५ गरी कूल १२ तथा जनमत पार्टीका प्रत्यक्षमा १ र समानुपातिकबाट ५ गरी कूल ६ सदस्य प्रतिनिधि सभामा रहने छन् ।
प्रत्यक्षमा १० सिट जितेको एकीकृत समाजवादी, ४ सिट जितेको लोसपा र १ सिट जितेको राष्ट्रिय जनमोर्चाले थ्रेसहोल्ड नकटाएकाले समानुपातिकबाट एक सिट पनि पाएनन् ।