राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन अपिल

३ मंसिर, काठमाडौं । भोलि मंसिर ४ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकै चरणमा हुँदैछ । सोही अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन अपिल गरेकी छन् ।

राष्ट्रपतिले एक सन्देश जारी गरी राष्ट्रपति भण्डारीले मतदान नागरिक अधिकारको उच्चतम अभ्यास भएकाले सबैलाई उत्साहपूर्वक सहभागिता जनाउन आग्रह गरेकी हुन् । उनले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण कायम गरी सफल बनाउन निर्वाचन आयोग‚ सुरक्षा निकाय‚ राष्ट्रसेवक तथा सम्बद्ध सबैमा आह्वान गरेकी छन् ।

‘निष्पक्ष‚ भयरहित र स्वतन्त्र वातावरणमा नागरिकले मताधिकार प्रयोग गर्दै सम्पन्न हुने आमनिर्वाचनबाट लोकतान्त्रिक प्रणाली र संस्थाहरू क्रमशस् जनउत्तरदायी हुँदै जान्छन्’ सन्देशमा राष्ट्रपति भण्डारीले भनेकी छन्, ‘यसबाट शासन प्रणालीमा जनताले खोजेको सुशासन र पारदर्शिता स्थापित गर्न मद्दत पुग्दछ ।’

आवधिक निर्वाचनले जनतामा निहित सार्वभौमसत्तालाई औपचारिक रूपले अभिव्यक्त गर्दै राज्यशक्तिको वास्तविक स्रोत जनतामा रहेको प्रमाणित गर्ने उनको भनाइ छ ।