उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक : मंसिर ४ गते बिहान ४ बजेदेखि बेलुकी ७ बजसम्म उपत्यकामा आन्तरिक सवारी आवगमन बन्द गर्ने

३० कात्तिक, काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मध्यनजर गर्दै काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बसेको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा निर्वाचन सुरक्षाबारे तीन प्रजिअको बैठक बसेको हो ।

बैठक स्रोत अनुसार बैठकले निर्वाचन आयोगको निर्णय अनुसार मंसिर ४ गते बिहान ४ बजेदेखि बेलुकी ७ बजसम्म उपत्यकामा आन्तरिक सवारी आवगमन बन्द गर्ने निर्णय गरेको छ । ‘यद्यपि, आयोगबाट निर्धारित मापदण्ड अनुसारका अनुमति प्राप्त सवारीसाधनलाई चाहिँ हिँड्न दिइनेछ ।

निर्वाचन लक्षित गरेर १ मंसिरदेखि ४ मंसिर राति १२ बजेसम्म तीन वटै जिल्लामा मदिरा ओसारपसार, विक्रीवितरणमा रोक लगाउने निर्णय समेत गरेको छ । ‘मतगणना स्थल वरपर चाहिँ गणना नसकिएसम्म रोक लगाउने निर्णय गरेको छ ।

निर्वाचनका कारण १ र २ गते जिल्ला प्रशासन कार्यालयहरुले प्रदेशान गर्ने शान्ति सुरक्षा, विपद्, निर्वाचन र मुद्दाबाहेकका सेवा प्रवाह स्थगत गर्ने पनि निर्णय गरिएको छ ।