‘प्रचण्ड’ले आज ताप्लेजुङ र खोटाङमा आयोजना गरिने चुनावी सभालाई सम्बोधन गर्ने

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले आज ताप्लेजुङ र खोटाङमा आयोजना गरिने चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् ।

सत्ता गठबन्धन ताप्लेजुङद्वारा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्न प्रचण्ड ताप्लेजुङ आउने जिल्ला निर्वाचन परिचालन समितिका संयोजक मिङ्मा डण्डु शेर्पाले जानकारी दिए । सदरमुकामस्थित तोक्मेडाँडामा आयोजित सभालाई  नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महत, नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव डा गङ्गालाल तुलाधरलगायतले सम्बोधन गर्ने कार्यक्रम छ । सत्ता गठबन्धनले यसअघि जिल्लाका आठ पालिकामा चुनावी सभा सम्पन्न गरिसकेको छ ।

जिल्लामा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका खेलप्रसाद बुडाक्षेत्री प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुनुहुन्छ । यस्तै प्रदेशसभा (१) मा एकीकृत समाजवादीका खेम वनेम र (२) मा कांग्रेसका खगेनसिं हाङ्गाम उम्मेदवार रहेका छन्।

यसबीच अध्यक्ष दाहालले सत्ता गठबन्धनद्वारा खोटाङको दिक्तेलबजारमा आज आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उक्त सभालाई अध्यक्ष दाहालसँगै कांग्रेस प्रवक्ता डा प्रकाशशरण महत र नेकपा (एकीकृत समाजवाद) पार्टीका उपमहासचिव डा गङ्गालाल तुलाधरले सम्बोधन गर्ने कार्यक्रम रहेको चुनाव प्रचार–प्रसार समितिका संयोजक टङ्कबहादुर थापाले जानकारी दिए ।

सत्ता गठबन्धनले जिल्लाका १० वटै स्थानीय तहमा चुनावीसभा सम्पन्न गरिसकेको छ । एउटा प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा रहेको जिल्लामा सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका रामकुमार राई, प्रदेशसभा (१) मा एकीकृत समाजवादीका वीरबलकाजी राई र प्रदेशसभा (२) मा कांग्रेसका भूपेन्द्र राई उम्मेदवार रहेका छन् ।