देशमा दुईटा गठबन्धन : पहिलो पाँच दलीय दोस्रो ओलीसहितको राजावादी

‘प्रचण्ड’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा दुइटा गठबन्धन बनेको बताएका छन्।

आफूसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेताहरू रहेको गठबन्धन र अर्को केपी शर्मा ओली नेतृत्वमा गरी दुइटा गठबन्धन रहेको उनले बताए ।

आज गोरखाको देउरालीमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै प्रचण्डले संविधान, लोकतन्त्र र समावेशी समानुपातिकको रक्षा गर्न आफूहरूले गठबन्धन गरेको बताए।

‘१२ बुँदे समझदारीको नयाँ कडी नै अहिलेको गठबन्धन हो,’ प्रचण्डले भने, ‘तर अहिले देशमा अर्को पनि गठबन्धन छ, राजावादीहरूको गठबन्धन। सामान्तवादीहरूको गठबन्धन। दलालहरूको गठबन्धन। यो देश टुक्याउनुपर्छ भन्ने अलगाववादीहरूसमेत भएको गठबन्धन।’

प्रधानमन्त्री शेरबहादुर देउवासहित आफूसमेत रहेका नेताहरू भएको एउटा गठबन्धन र एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा अर्को गठबन्धन रहेको पनि उनले बताए।

‘एउटा गठबन्धन संविधान र लोकतन्त्रको रक्षा गर्न प्रतिबद्ध भएर लडेको छ भने अर्को गठबन्धन यसलाई कसरी भत्काउने भनेर लागेको छ, कसरी संविधान मिच्ने भनेर लागेको छ,’ उनले भने।

उनले प्रतिगमनकारी प्रवृत्ति परास्त गर्नुपर्ने बताए। अग्रगमन र पश्चगमनबीच मंसिर ४ को चुनावमा लडाइँ हुने र लोकतन्त्रको जित हुने उनले बताएका थिए। गोरखाका कांग्रेस र माओवादी प्रतिस्पर्धी भए पनि अहिले गठबन्धन गरेको हुनाले सत्ता गठबन्धनका उम्मेदवार असाधारण मतसहित जित्नुपर्ने उनले बताए।

प्रचण्डले सिउरेनीटारदेखि पालुङटारसम्म पृथ्वी राजमार्गको वैकल्पिक मार्ग बनाउन जोड दिने, गोरखाका कच्ची सडक कालोपत्र गर्ने, बन्द गोरखकाली रबर उद्योग पुनस् सञ्चालनमा ल्याउनेजस्ता योजना रहेको पनि सुनाएका थिए। प्रचण्ड गोरखा २ मा सत्ता गठबन्धनबाट उम्मेदवार छन्।