महिनावारी सुकेपछि के हुन्छ ?

काठमाडौं । महिलाको शारीरिक संरचना यति जटिल हुन्छ कि त्यसले विभिन्न क्षणमा ठूलो उथलपुथलबाट गुज्रिनुपर्ने
हुन्छ । ९ देखि १३ वर्षको उमेरमा रजस्वला सुरु हुनु, युवावयमा गर्भवती हुनु, प्रसूति पीडा खेप्नु अनि फेरि उमेर ढल्किंदै गएपछि रजोनिवृत्ति हुनु ।

शारीरिक र भावनात्मक रुपले यी चरणहरु महिलाका लागि त्यति सहज हुँदैनन् । मोनोपोज अर्थात् रजोनिवृत्ति एक यस्तै चरण हो, जहाँ महिलाले फरक स्थितिबाट गुज्रिनुपर्ने हुन्छ । महिलाहरूमा रजस्वला बन्द भएको वा रोकिएको अवस्थालाई रजोनिवृत्ति भनिन्छ । यस अवस्थामा महिलाको अण्डाशयको काम स्थायी रूपमा बन्द हुन्छ । प्रजनन् शक्ति समाप्त
हुन्छ ।

यो एउटा प्राकृतिक प्रक्रिया हो । महिनावारी हुन छाडेपछि महिलाको शरीरमा विभिन्न हर्मोनल परिवर्तन हुन्छ । जसको कारण महिलामा विभिन्न समस्या देखा पर्न सक्छन् । ४५ देखि ५५ वर्ष उमेरभित्रमा महिलाहरूमा रजोनीवृत्ति हुन्छ ।

पाठेघरको दुईतिर दुईवटा डिम्बाशय रहेको हुन्छ । त्यसले ‘एस्ट्रोजोन’ र ‘प्रोजोस्ट्रोन’ नामक  हर्मोन उत्पादन गर्छ । यो हर्मोनले गर्दा नै महिनावारी नियमित हुन्छ । रजोनिवृत्ति भएपछि दुईवटा डिम्बाशयले काम गर्न छोड्छ र हर्मोनको उत्पादन पनि हुन छाड्छ ।

यी दुई हर्मोन बन्न छाडेपछि शरीरमा यसको कमी हुने र जसकारण महिनावारी सुकेपछि विभिन्न समस्या देखा पर्न थाल्ने प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. श्वेता सिंह बताउँछिन् ।

रजोनिवृत्तिपछि शारीरिक र भावनात्मक परिवर्तन  

महिनावारी रोकिएपछि महिलाको शरीरमा ‘एस्ट्रोजोन’ र ‘प्रोजोस्ट्रोन’ हर्मोनको कमी हुन्छ, जसले विभिन्न शारीरिक परिवर्तन देखा पर्छन् । डा. सिंह भन्छिन्, ‘हर्मोनको कमीले निद्रा नलाग्ने, खलखल पसिना आउने, एकदमै जाडो हुनेजस्ता लक्षण देखा पर्छन् ।’

यी हर्मोनले शरीरमा क्याल्सियम अवशोषित गर्ने काम पनि गर्छ । त्यसैले यसको कमी हुँदा क्याल्सियम प्रशस्त मात्रामा खाए पनि अवशोषित भने हुँदैन । जसले गर्दा हाडजोर्नी कमजोर भएर ढाड, कम्मर र जोर्नी दुख्नेजस्ता समस्या देखिन्छन् । कतिमा त मुटुमा नै समस्या देखिने पनि हुनसक्ने सिंह बताउँछिन् ।

‘हर्मोनको कमीले गर्दा भावनात्मक परिवर्तन  देखा पर्छ । जसले गर्दा मुड परिवर्तन हुने, सानो सानो कुरामा रिस उठ्ने र झर्को लाग्ने पनि हुन सक्छ,’ उनी भन्छिन् ।

कृत्रिम रजोनिवृत्ति पनि हुनसक्ने

प्राकृतिक रजोनिवृत्ति हुने एउटा निश्चित समय हुन्छ । तर कृत्रिम रजोनीवृत्ति भने ३५, ४० वर्ष जुनसुकै उमेरमा पनि हुन सक्छ । ‘पाठेघरमा ठूलो ‘ट्युमर’ भयो वा अन्य कुनै जटिल समस्या भएर पाठेघर नै निकाल्नुपर्ने अवस्था आएमा ‘एस्ट्रोजोन’ र ‘प्रोजोस्ट्रोन’ हर्मोन उत्पादन हुँदैन र महिनावारी पनि हुँदैन । जसलाई कृत्रिम रजोनिवृत्ति भनिन्छ’ डा. सिंह भन्छिन् ।

केही महिलामा कुनै स्वास्थ्य समस्याका कारण डिम्बाशयले राम्ररी  काम गर्न सकेको हुँदैन । क्यान्सरको बिरामीमा रेडिएसन दिनुपरेमा पनि डिम्बाशयले काम गर्न छाड्ने र त्यस्तो अवस्थामा महिनावारी सुकेर जाने सिंह बताउँछिन् ।

साथै शरीरमा प्रोल्याक्टिन भन्ने हर्मोन बढी छ भने महिनावारी सुक्छ । शरीरमा हाइपर थाइरोइड बढी भएको छ भने पनि महिनावारी गडबडी हुने वा सुक्ने समस्या देखापर्ने सिंहको भनाइ छ ।

रजोनिवृत्तिपछि देखिने समस्याको उपचार

महिनावारी रोकिएपछि हर्मोनको कमीले शरीरमा विभिन्न परिवर्तन तथा समस्या देखा परेको छ भने त्यसको उपचार हर्मोनल रिप्लेसमेन्टबाट हुन्छ । कमी भएको हर्मोनलाई बाहिरबाट औषधि वा भजाइनामा लगाइने जेलको माध्यमबाट दिएर शरीरमा हर्मोनको मात्रा बढाइने डा. सिंह बताउँछिन् ।

बाहिरबाट दिएको त्यो हर्मोनल औषधिको प्रयोग डाक्टरको सल्लाहअनुसार गर्नुपर्छ । यसो गरेमा हर्मोनको कारणले शरीरमा भएको परिवर्तन र समस्या कम हुने सिंह बताउँछिन् ।

कृत्रिम रजोनिवृत्ति हुने विभिन्न कारण हुन्छन् । थाइराइड तथा प्रोल्याक्टिन हर्मोनको कारण यस्तो समस्या भएको हो भने ती हर्मोनलाई सही अवस्थामा ल्याउनुपर्छ ।

डा. सिंह भन्छिन्, ‘पाठेघर तथा अण्डाशयमा समस्या भएर कृत्रिम रजोनिवृत्ति भएको खण्डमा भने हर्मोनल पिल्सको सेवन गर्नुपर्ने हुन्छ । लामो समयसम्म हर्मोनल थेरापी गर्नुपर्ने हुन्छ । यस्ता समस्या भएका महिलाले ६ महिना वा एक वर्षको अन्तरालमा अस्पताल गएर  फलोअप गर्नुपर्छ । जसले गर्दा त्यो औषधिको सेवनले अन्य समस्या निम्तिन पाउँदैन ।’

अनलाइनखबरबाट