Breaking News

झण्डै २५ सय सदस्यहरुको बचत रकम फिर्ता नगरी गौतमश्री सहकारी संस्थाका सञ्चालक फरार

काठमाडौंलाई नै मुख्य व्यवसायिक क्षेत्र बनाएर सञ्चालनमा रहेको गौतमश्री सहकारी संस्थाका सञ्चालक बचतकर्ताहरुको रकम फिर्ता नगरी फरार भएका छन् । काठमाडौंको कुलेश्वरमा मुख्य कार्यालय रहेको सहकारीका सञ्चालक झण्डै २५ सय सदस्यहरुको बचत रकम फिर्ता नगरी फरार भएका हुन् । सदस्यहरुको बचत रकम फिर्ता नगरी फरार भएको भन्दै सहकारी संस्थाका सञ्चालकविरुद्ध सहकारी विभागमा उजुरी परेको छ ।

लामो समयदेखि बचतकर्ताहरुको बचत रकम फिर्ता गर्न नसकेर समस्यामा परेको सहकारीले गत शुक्रबार मुख्य कार्यालयमा नै ताल्चा लगाएर भागेपछि सदस्यहरु आन्दोलित भएका छन् । फरार सहकारीलाई खोजेर बचत रकम फिर्ता गराइदिन भन्दै गौतमश्री सहकारीका करिब १५ सय बचतकर्ताहरु आइतबार विभागमा उजुरी दिन पुगेका छन् ।

सहकारीले कसको के कति रकम फिर्ता नगरेको हो, सो खुलाई उजुरी दिन भनिएको सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले जानकारी दिए । ‘अहिले विभागमा उपस्थित पीडित सदस्यहरुले एकएक गरी आफ्नो बचत रकम दाबीसहित विभागमा उजुरी दर्ता गरिरहेका छन्’ रजिष्ट्रारले जानकारी दिए ।

घटनाको प्रकृति र बचतकर्ताहरुको उजुरीका आधारमा उक्त सहकारीमाथि अनुसन्धान र कारबाही अघि बढाइने रजिष्ट्रार पण्डितले जानकारी दिए । शुक्रबार मुख्य कार्यालय नै बन्द गरेर फरार भएपछि कुलेश्वरस्थित गौतमश्री सहकारीमा एभरेष्ट बैंकले सूचना टाँस गरेर सिल गरेको छ ।

सहकारीमा बैंकको कुनै पनि लगानी नभएपनि सहकारी रहेको भवनमा नै सञ्चालित गौतमश्री काउ फार्म एण्ड डेरी उद्योग र कृषि तथा अन्य सामग्रीको स्टोर रहेको र सोमा बैंकको लगानी रहेकाले संरक्षणका लागि सिल गरिएको बैंकले जनाएको छ ।