Breaking News

म्यानमारको सेनाले पूर्वसांसदसहित चार जनालाई मृत्युदण्ड

१० साउन, काठमाडौं । म्यानमारको सेनाले पूर्वसांसदसहित चार जनालाई मृत्युदण्ड दिएको छ । पूर्वसांसद फ्यो जेया थअ, को जिम्मी नामले चिनिने क्यो मिन यु, ह्ला म्यो आङ र आङ थुरा जअलाई आतंककारी गतिविधि गरेको आरोपमा मृत्युदण्ड दिइएको बीबीसीले जनाएको छ ।

को जिम्मी नामले चिनिने क्यो मिन यु लेखक हुन् । ५३ वर्षीय जिम्मी सन् १९८८ मा सैन्य शासनको विरोध गर्ने विद्यार्थी समूहका सदस्य थिए । उनी प्रजातान्त्रिक आन्दोलनको क्रममा पटक(पटक जेल परेका थिए । उनलाई गत वर्ष अक्टोबरमा यांगुनस्थित घरमा हतियार लुकाएको र छाया सरकारको सल्लाहकार भएको आरोपमा पक्राउ गरिएको
थियो ।

यसैगरी ४१ वर्षीय फ्यो जेया थअ प्रजातन्त्रवादी नेतृ आङ सान सूची निकट मानिन्छन् । उनी सूची नेतृत्वको नेश्नल लीग फर डेमोक्रेसी ९एनएलडी० पार्टीका सांसद थिए । उनले सैन्य शासकविरुद्ध कडा अभिव्यक्ति दिंदै आएका थिए । उनलाई सैनिक सरकारले गत नोभेम्बरमा पक्राउ गरेको थियो । मृत्युदण्ड दिइएका अन्य दुई जनाकारे बारेमा भने खुलेको छैन । यद्यपि उनीहरुविरुद्ध सेनालाई सूचना पुर्याएको आरोपमा एक महिलालाई हत्या गरेको अभियोग
थियो ।

म्यानमारको सरकारी समाचार संस्था ग्लोबल न्यूज लाइट अफ म्यान्मारले चारै जनाले आतंककारी गतिविधिलाई निर्देशन र व्यवस्थापन गरेको कारण प्रतिआतंकवाद कानुनअन्तर्गत सजाय दिइएको बताएको छ । यद्यपि उनीहरुलाई कहाँ र कसरी मृत्युदण्ड दिइयो भन्ने समाचारमा स्पष्ट नभएको बीबीसीमा उल्लेख छ ।

आलोचना

गत जुन महिनामै सेनाले उनीहरुलाई मृत्युदण्ड दिने निर्णय गरेको सार्वजनिक भएलगत्तै अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेका थिए । उनीहरुलाई एक बन्द इजलासमा मृत्युदण्डको फैसला सुनाइएको थियो ।

मृत्युदण्ड दिइएको समाचार सार्वजनिक भएपछि पनि म्यानमारको सैनिक सरकारको आलोचना भएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले मृत्युदण्ड दिने निर्णयबाट व्यक्तिको जीवन, स्वतन्त्रता र सुरक्षाको अधिकारको निर्मम हनन भएको भन्दै आलोचना गरेका छन् ।

सैनिक सरकारविरुद्ध गठन गरिएको छाया सरकारले पनि मृत्युदण्डको आलोचना गर्दै सैनिक शासकलाई सजायँ दिन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ ।

सूची नेतृत्वको प्रजातान्त्रिक सरकारलाई अपदस्थ गर्दै म्यानमारको सेनाले २०२१ को फेब्रुअरीमा शासन सत्ता हातमा लिएको थियो । सैन्य कूको विरोधमा भएका प्रदर्शनहरुमा पनि सेनाले दमन गरेको थियो । एएपीपी नामको एक संस्थाका अनुसार सेनाले २ हजार ११४ जनालाई मारेको छ भने १४ हजार ८४७ जना पक्राउ परेका छन् ।

प्रजातन्त्रवादी नेतृ सूची हालसम्म पनि सैनिक सरकारको नजरबन्दमै छिन् । उनीमाथि भ्रष्टाचार गरेको लगायतका आरोप लगाइएको छ । यदि आरोप प्रमाणित भएमा उनलाई १५० वर्षसम्म जेल सजाय हुनसक्ने छ ।

एजेन्सी