के अब पाठेघरको मुखको क्यान्सर हुनबाट जोगिने भए त महिला ?

पाठेघरको डिम्बासयको क्यान्सर र मुखको क्यान्सर भई तेस्रो चौथो स्टेजमा पुगेपछि बल्ल थाहा पाउने बाध्यताको अन्त्य हुने भएको छ । सरकारले आर्थिक वर्ष २०७८÷७९ सालको नीति तथा कार्यक्रममा महिलामा हुने पाठेघरको मुखको क्यान्सरको निःशुल्क स्क्रिनिङ सेवा सञ्चालन गरिने कुरा समावेश गरेपछि त्यस्तो अवस्थाको अन्त्य हुने भएको हो ।

यस्तै सरकारले किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप दिइने समेत जनाएको छ । मुख्यत महिलाहरूमा देखिने क्यान्सरमध्ये पाठेघरको डिम्बासय, पाठेघरको मुखको क्यान्सर, स्तनको क्यान्सर प्रमुखमा पर्छन् । अंगमा कोषिकाहरुको अनियन्त्रित, असामान्य, अनावश्यक रुपले वृद्धि भइ निको नहुने घाउ हो पाठेघरको मुखको क्यान्सर । समयमै उपचार पाए साधारण उपचारले बिरामी निको हुने वीर अस्पतालका क्यान्सर रोग विषेशज्ञ सन्ध्या चापागाइँ बताउँछिन् ।



खास गरी ग्रामीण भेगका महिलाले डिम्बासयको क्यान्सर भइ तेस्रो चौथो स्टेजमा पुगेका थाहा पाउने चिकित्सकहरु बताउँछन् । डिम्बासयको क्यान्सरको कोषिकाहरु हुन्छ । महिलाहरूमा पाठेघरको दुवैतिर हुने सानो अण्डा आकारको अङ्गलाई डिम्बासय भनिन्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो समय पाठेघरको मुख र डिम्बासयको स्तन क्यान्सरको बिरामी बढ्दै गएको जनाएको छ । त्यसैले, सरकारले नीति तथा कार्यक्रममा स्तन क्यान्सर निदान एवं उपचारलाई सहज र सुलभ बनाउन विशेष कार्यक्रम ल्याउन लागेको हो  ।

प्रसूति तथा स्त्री रोग अस्पतालका उपनिर्देशक डा श्री प्रसाद अधिकारीका अनुसार पाठेघरको मुख र डिम्बासय हुने क्यान्सरका धेरै बिरामीले लामो समयपछि उपचार पाउँदा रकम बढी खर्च हुने तर विरामीको ज्यान पनि नजोगिने अवस्था छ । यही तथ्यलाई मध्यनजर गर्दै सरकारको नीति तथा कार्यक्रममा क्यान्सरको निःशुल्क स्क्रिनिङ सेवा र किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिइने कुरा समावेश हुनु सान्दर्भिक भएको बताउँछन् ।

स्थानीय स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई स्क्रिनिङ सम्बन्धि तालिम दिएमा उनीहरुले स्वास्थ्य चौकीबाटै सेवा दिन सक्ने डा. अधिकारी बताउँछन् । उता इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक तथा जनस्वास्थ्यविद् डा.बाबुराम मरासिनी पाठेघरको मुखको क्यान्सरको निःशुल्क स्क्रिनिङ सेवा र यस विरुद्धको खोप दिइनेबारे व्यवहारिक रुपमा लागू हुने कुरामा त्यति विश्वस्त छैनन् ।

डा मरासिनी भन्छन्, ‘नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रका राम्रा कुरा समावेश गरिएको छ । कार्यक्रम अनुसारको बजेट  विनियोजन गर्नुपर्छ । नीति तथा कार्यक्रममा राम्रो कुरा राख्ने व्यवहारमा लागू कम हुने चलन छ । किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिइने कुरा धेरै राम्रो हो । के सरकारले स्वास्थ्य क्षेत्रलाई छुट्याउँदै आएको बजेटले यो खोप दिन सक्छ ? कुनै निकायले खोप डोनेसन दिन्छ भने मात्र हो ।’ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम घोषणा गर्दा अघिल्ला वर्षका नीति तथा कार्यक्रममा समावेश भएको कार्यक्रम अगाडि नबढेकोे अवस्था रहेको डा मरासिनी स्मरण गर्छन् । हाल स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी नभएको उनको जिकिर छ ।

सबै शारीरिक तथा मानसिक अपाङ्गता भएका व्यक्ति एवम् क्यान्सर लगायतका दीर्घरोगीका लागि प्रत्येक प्रदेशमा पुनःस्थापना तथा परामर्श केन्द्र स्थापना गरिने उल्लेख गरिएको छ । सबै प्रदेशमा एकैपटक लागू हुने कुरामा पनि डा मरासिनी शंका व्यक्त गर्छन् । भन्छन्, ‘कुनै प्रदेशमा सुरुवात गरी व्यवहारिक भए अन्य प्रदेशमा क्रमशः लागू गरेमा कार्यक्रम प्रभावकारी हुन्थ्यो कि ?

यस्तै, सरकारले नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने उल्लेख छ । नागरिकको सहभागितामा नसर्ने रोग न्यून गर्न नागरिक आरोग्य अभियान सञ्चालन गरिने भएको छ । ‘एक स्वास्थ्य रणनीति’ कार्यान्वयनमा ल्याई प्रति जैविक औषधिको प्रतिरोधलाई न्यून गरिने भएको छ ।

नीति तथा कार्यक्रममा  प्रदेशको सहभागिता र समन्वयमा सबै प्रदेशमा सरकारी स्वामित्वको रक्तसञ्चार केन्द्र स्थापना गरिने पनि उल्लेख छ । यस्तै, केन्द्रीय जनस्वास्थ्य प्रयोगशालालाई आधुनिक एवं सुविधा सम्पन्न बनाई सबै प्रकारका विशिष्टीकृत परीक्षण सरल र सहज रुपमा हुने व्यवस्था मिलाइने उल्लेख गरिएको छ ।

यस्तै, प्रत्येक प्रदेशमा कम्तीमा दुई मेडिकल कलेज प्रतिष्ठान स्थापना र सञ्चालन गर्ने नीति लिइने कुरा धेरै राम्रो भएको डा मरासिनी बताउँछन् । चिकित्सा शिक्षा अध्ययन गराउने शिक्षण संस्थाको क्षमताका आधारमा विद्यार्थी सङ्ख्या वृद्धि गरिने भएको छ ?

रातोपाटीबाट