Breaking News

काँग्रेसको वरियता क्रममा सभापतिमा पराजित नेता शेखर कोइरालाको २० औं स्थानमा

१० पुस, काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठकअघि पार्टीका नेताहरुको वरियता तोकिएको छ । १४ औं महाधिवेशनमा सभापतिमा पराजित नेता शेखर कोइरालाको वरियता २० औं नम्बरमा तोकेको छ ।

तोकेको वरियता अनुसार पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीपछि शेखर कोइरालालाई राखिएको हो ।

नयाँ वरियताअनुसार सभापति देउवा र पार्टीका उपसभापति, महामन्त्री र सहमहामन्त्रीहरु छन् । त्यसपछि पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्री शशांक कोइराला, पूर्वकोषाध्यक्ष चित्रलेखा यादव, पूर्वसहमहामन्त्रीहरु अर्जनुनरसिंह केसी, रामशरण महत र सुनील थापा रहेका छन् ।

त्यसपछि शेखरलाई राख्दा उनको वरियता २० औंमा परेको हो । १३ औं महाधिवेशनमा केन्द्रीय सदस्यमात्रै रहेका कोइरालाको त्यतिबेलाको वरियता ३५ औं नम्बरमा थियो ।

नेपाली कांग्रेसमा यसअघिको महाधिवेशनमा सभापति पदमा दोस्रो स्थानमा रहेका उम्मेदवार सभापतिपछिको वरियतामा रहने प्रचलन थियो ।

१३ औं महाधिवेशनमा देउवासँग पराजित रामचन्द्र पौडेलको वरियता देउवापछि दोस्रो स्थानमा कायम गरिएको थियो । त्यसअघि १२ औं महाधिवेशनमा सुशील कोइरालासँग सभापतिमा पराजित भएका देउवाको वरियता पनि दोस्रो स्थानमा कायम गरिएको थियो ।