५ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग आजबाट सुरु भएको छ । सुरुवातीको पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबले नेपाल एपीएफ क्लबलाई ३-२ ले पराजित गर्दै विजयी सुरुवात गरेको छ । प्रतिस्पर्धात्मक खेलको ईन्जुरी टाईममा गोल गर्दै ब्रिगेडले ३ अंक जोडेको हो।

ब्रिगेडकइ जितमा दिनेश राईले दुई तथा सुरज गुरुङलेएकगोल गरे । एपीएफका आशिष लामा र बिके तामाङले गोल फर्काए ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलको ११औं मिनेटमै दिनेश राईले गोल गर्दै ब्रिगेड लाई अग्रता दिलाएका थिए । उनले करीब ३५ यार्ड टाढाबाट फ्रिकिकमा गोल गरेका हुन् ।

तर त्यो अग्रता लामो समय टिकेन ।१७ औं मिनेटमा आशिष लामाले एपीएफका लागि बराबरी गोल फर्काए ।गोलकिपर राजु योगिले रिलिज गरेको बलमा आवास लामिछानेले दिएको पासमा आशिषले गोल गरेका हुन् ।

४४ औं मिनेटमा ब्रिगेडका रोसन राना मगरको प्रहार पोष्टमा लागेर फर्किएको थियो । दोस्रो सुरुमा एपीएफले अग्रता लिने अवसर गुमायो। ४९औं मिनेटमा एपीएफमा आशिष लामाले सिक्स यार्ड बाहिरबाट हानेको भलि प्रहार बारमा लागेर फर्किएको थियो।

५३औ मिनेटमा आशिषकै प्रहार पोष्ट नजिकबाट बाहिरियो। ५५औं मिनेटमा दिनेश राईको प्रहार पोष्ट बाहिर गयो।

६५औं मिनेटमा दिनेश राईले ड्याड्डी जुनियरको पासमा व्यक्तिगत दोस्रोगोल गर्दै ब्रिगेडलाई २-१ को अग्रता दिलाए । तर एपीएफले फेरि बराबरी गोल फर्कायो । ७७ औं मिनेटमा वैकल्पिक खेलाडी रवि थिङको पासमा बिके तामाङले बराबरीगोल फर्काए ।

ईन्जुरी टाईममा वैकल्पिक खेलाडी सुरज गुरुङले भुवन बस्नेतको पासमा गोल गर्दै ब्रिगेडलाई जित दिलाएका थिए ।