छठ अर्थात सूर्य षष्ठी पूजाको दोस्रो दिन आज व्रतालुहरू ​खरना गरिदै

हिन्दुहरुको छठ अर्थात सूर्य षष्ठी पूजाको दोस्रो दिन आज व्रतालुहरू ​ खरना गरिरहेका छन् । धार्मिक नियमपूर्वक जनविश्वासका साथ मनाइने चार दिवसीय आस्थाको पर्व छठ सोमबारदेखि शुरु भएको हो ।

हिन्दु धार्मिक मान्यता अनुसार छठ वर्षमा दुई पटक कात्तिक र चैत्रमा अत्यन्तै निष्ठापूर्वक मनाइन्छ । कात्तिक शुक्ल चतुर्दशीका दिनदेखि शुरु हुने सूर्य उपासनाको पर्व छठलाई तराई मधेस तथा मिथिलाञ्चलको महान पर्व पनि भनिन्छ ।

लोकपर्व छठको आज दोस्रो दिन व्रतालुहरू नुहाइ धुवाइ गरी शुद्ध भई पूजाका सामग्री तयार गरी रहेका छन् । छठ व्रत गर्ने व्रतालु महिला तथा पुरुषहरूले हिजो चोखो अरवा चामलको भात, चना, रहरको दाल, फर्सी, लौकाको तरकारी खाएर छठ पर्व सुरु गरेका हुन् ।

छठ पर्वको पहिलो दिनलाई नहाए खाए भनिन्छ । पर्वको दोश्रो दिन मंगलवार व्रतालुहरूले खरना मनाइरहेका छन । खरनाको दिन व्रतालुहरू बिहानैदेखि निर्जला रही बेलुका नयाँ माटोको चुल्होमा प्रासादको रुपमा साठी धानको चामल र गाई, भैंसीको दुधको खीर र गहुँको पिठोको रोटी पकाई छठी मातालाई चढाउँछन् । त्यही प्रसाद खाने गर्दछन् । त्यसछि ब्रतालुहरु ३६ घण्टा पानीसमेत नखाएर निराहार व्रत शुरु हुनेछ ।

लोकपर्व छठ अन्तर्गत भोलि बुधवार बेलुका अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइने र पर्सिपल्ट बिहीवार बिहान उदाउँदो सूर्यलाई विधि पूर्वक अर्घ दिएपछि छठ विधिवत रुपमा सकिन्छ ।

अहिले रौतहटको सदरमुकाम गौरदेखि ग्रामिण बजारहरुमा छठ पर्वको चहलपहल बढेको छ । छठ पर्वमा नयाँ कपडा लगाउने चलन छ । हाल कपडा, खाद्यान्न तथा फलफुलका पसलहरूमा किनमेल गर्ने ग्राहकको भीड देखिन्छ ।

गौर, चन्द्रनिगाहपुर, गरुडा, कटहरिया, शिवनगरका साथै सिमावर्ती भारतीय बजार बैरगनिया,कुण्डवा चैनपुर,घोडाशहनमा पूजा सामग्री, किराना सामान तथा कपडा किनमेल गर्नेहरुको चहलपहल निकै बढेको छ ।

यसपटक पूजा सामग्रीहरु,फलफूल मिठाइ, छठ पर्वमा प्रयोग हुने बाँसको दौरा, सुपली, नाङलो, माटोको बर्तन, हाथी, कलश, ढकनाको भाउ आकासिएको छ । त्यसैगरी हरिया तरकारीको मूल्य निकै बढेको छ ।

छठपर्व मनाउन रौतहटको सबै स्थानका नदी, पोखरी, तलाउ किनारमा पंडाल सजावट सुरु भएको छ । छठ सुरु भएपछि छठी मैयाँसँग सम्बन्धित भोजपुरी, हिन्दी गीत तथा भजन कीर्तनले शहरदेखि गाउँसम्मको वातावरण भक्तिमय बनेको छ ।