पूर्वसभामुख महरालाई नेकपा स्थायी कमिटी सदस्य बनाउने

५ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पूर्वसभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउने भएको छ ।

आइतबार साँझ बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले महरालाई स्थायी कमिटीमा ल्याउन केन्द्रीय समितिमा प्रस्ताव लैजाने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

आजको बैठकमा प्रधानमन्त्री ओली र उनीनिकट स्थायी कमिटी सदस्य भने सहभागी थिएनन् ।

आजको बैठकले केन्द्रीय कमिटीको बैठक पुस ७ गते बोलाउने निर्णय पनि गरेको छ ।

पूर्वमाओवादी नेता महराले सभामुख निर्वाचित भएसँगै पार्टीको सदस्यता स्थगित गरेका थिए ।

महरा माथि संसद सचिवालयकै एक कर्मचारीले यौन दुराचारको आरोप लगाएपछि सभामुख पदबाट राजीनामा दिनुपर्ने अवस्था बनेको थियो ।

महराले उक्त मुद्दामा अदालतबाट सफाइ पाइसकेका छन् ।