प्रचण्डले नै सचिवालय बैठक बोलाउने तयारी प्रचण्ड–नेपाल पक्षको
२४ कात्तिक, काठमाण्डौ । सत्तारुढ नेकपाका दुई अध्यक्षबीच विवाद बढिरहेका बेला प्रधानमन्त्रीको सन्देश लिएर महासचिव विष्णु पौडेलले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरिरहेका छन् ।

प्रचण्डनिवास खुमलटारमा भएको भेटमा महासचिव पौडेलले पार्टी विधानअनुसार सचिवालय बैठक बोलाउने जानकारी गराएको स्रोतले बतायो ।

अध्यक्ष ओलीसँग सचिवालय सदस्यहरूले लिखित माग गरेको १५ दिनभित्र विधानअनुसार बैठक बोलाउने जानकारी गराएका थिए ।

प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले कात्तिक २२ गते सचिवालय बैठकको माग राखी प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई लिखित पत्र बुझाएका थिए ।

प्रचण्डले आफूसँग सचिवालय वा स्थायी समिति बैठक बोलाउने अधिकार भए पनि सहमतिका लागिमात्र अध्यक्ष ओलीलाई लिखित पत्र दिएको जानकारी बताएका
छन् । उनले विधानको प्रावधान यो प्रसंगमा आकर्षित नहुने पनि बताए । बहुमत सचिवालय सदस्यले माग गरेअनुसार प्रधानमन्त्री ओलीले चाँडै सचिवालय बैठक बोलाउनु पर्ने पनि प्रचण्डले बताए ।

प्रधानमन्त्री ओलीले मंगलबारसम्म पनि बैठक नबोलाए प्रचण्डले नै सचिवालय बैठक बोलाउने तयारी प्रचण्ड–नेपाल पक्षले गरेका छन् । उक्त सचिवालय बैठकले स्थायी समिति बैठक डाक्ने निर्णय गर्नेछ ।

‘त्यसपछि जे निर्णय गर्ने हो स्थायी समितिले नै गर्नेछ,’ प्रचण्ड–नेपाल पक्षका एक स्थायी समिति सदस्यले भनेका छन् ।