मलामी गएका करिब ९० प्रतिशतमा कोरोना पुष्टि

६ भाद्र, बुटवल । रूपन्देहीको बुटवलमा एक जना महिलाको मलामी गएका ९० प्रतिशतलाई कोरोनाको संक्रमण देखिएको छ ।

साउन १८ गते बुटवल उपमहानगरपालिका–११ कालिकानगरकी ती ४९ वर्षीया महिलाको चितवनको भरतपुर क्यान्सर अस्पतालमा मृत्यु भएको थियो ।

उनी क्यान्सरको उपचारका लागि अस्पतालमा आएकी थिइन् । मृत्युपछि परिवारले कोरोना परीक्षण गर्न पर्छ कि भनेर सोधेका थिए । किमोथेरापीको क्रममा हृदयघातले मृत्यु भएको भन्दै अस्पतालले कोरोना परीक्षण नगरी पठाइदियो ।

सामान्य मृत्युजस्तै ठानेर उनका छिमेकी र नातागोता मलामी गए । उनको दाहसंस्कार गरेर आएको केही दिनमै मृतकका देवरलाई कोरोनाको जस्तै लक्षण देखिए । शंका लागेर जाँच्दा साउन २२ गते उनको कोरोना रिपोर्ट पोजेटिभ आयो ।

मृतकका देवरमा कोरोना पोजिटिभ देखिएपछि दाहसंस्कारमा सहभागी भएकाहरूले परीक्षण थाले । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीका स्वकीय सचिव मेघराज भट्टराईका अनुसार ती महिलाका देवर नेकपाका स्थानीय कार्यकर्ता हुन् ।

केही समयअघि उनी पार्टी कार्यालय पनि आएका थिए । उनलाई कोरोना संक्रमण पुष्टि भएपछि पार्टी कार्यालय सिल गरिएको थियो ।

भट्टराईका अनुसार पछि ती महिलाको मलामी गएकाहरूले पनि परीक्षण गराउन थालेका थिए ।

’अहिलेसम्म ४५ जनाको स्वाब परीक्षण गर्दा ९० प्रतिशतमा कोरोना पोजिटिभ देखिएको छ ।

मृतक महिलामा कोरोना भएका कारण अरूमा स¥यो कि उनका देवरबाट अरूलाई संक्रमण फैलियो भन्ने एकिन भइसकेको छैन । भरतपुर क्यान्सर अस्पतालले ती महिलाको उपचारमा संलग्न चिकित्सक वा अन्य स्वास्थ्यकर्मीमा संक्रमण देखिएको पुष्टि गरेको छैन ।

सो घटनापछि बुटवलमा कोरोनाको संक्रमण समुदायस्तरमा भूसको आगोजसरी फैलिएको सरोकारवालाहरूले बताएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ शाहले बुटवलमा कोरोना संक्रमण समुदायमै पुगिसकेको र यसको नियन्त्रणको लागि एकअर्का बीचको सम्पर्कलाई टुटाउनु पर्ने बताए ।

पछिल्लो समय दिनदिनै बढिरहेका संक्रमितले पनि बुटवलमा संक्रमणको क्रम तीव्र छ भन्ने देखाउँछ ।

साउन २२ गतेसम्म २७ जनामात्र कोरोना संक्रमित रहेको बुटवलमा १५ दिनमा १ सय १७ जना थपिएर अहिले १ सय ४४ जना पुगेका छन् ।

थपिएकामध्ये अधिकांश तीनै मृतक महिलाका आफन्त तथा टोलछिमेक र अन्त्येष्टिमा सहभागी छन् । उनको किरिया गराउने पण्डितलाई समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

बुटवलमा फैलिएको संक्रमणको असर छिमेकी पालिका तिलोत्तमा, सैनामैना, देवदह र सिद्धार्थनगरमा पनि परेको छ ।

पहिलो चरणको लकडाउनको अवधिमा भारतीय खुल्ला सीमाना बेलहिया हुँदै भारतबाट आएका हजारौं नेपाली र पैदल हिँड्दै आएका मेचीदेखि महाकालीसम्मका मजदुरलाई आश्रय दिएको बुटवलले संक्रमणबाट आफूलाई जोगाएको थियो ।

पछिल्लो १५ दिनयता दिनदिनै संक्रमित थपिँदै गएपछि सर्वसाधारण त्रसित बनेका छन् ।

बुटवल उपमहामहानगरपालिकाले साउन २९ गतेदेखि घोषणा गरेको लकडाउनपछि सडकमा मानिसको उपस्थिति शुन्य प्रायः छ । उपमहानगरपालिकाले भदौ ७ गतेसम्म लकडाउन जारी राखेको छ ।

साउन २२ गतेसम्म जिल्लाभर कुल ३ सय ५० जनामा संक्रमण पुष्टि हुँदा सबैभन्दा बढी जनसंख्या रहेको र दैनिक मानिसको चाप रहने बुटवलमा जम्मा २७ जना संक्रमित थिए । शुक्रबारसम्म आइपुग्दा भने जिल्लाभर संक्रमितको संख्या ६ सय १० पुग्दा बुटवलमा मात्रै १ सय ४४ पुगेको छ ।

बुटवलमा कोरोनाका संक्रमित थपिदै गएपछि आइसोलेसनका बेड भरिएका छन् । अहिले थपिएका संक्रमितलाई घरघरमै सुरक्षित रूपमा बस्न आग्रह गर्दै आएको छ ।

होम आइसोलेसनमा बसेका संक्रमितलाई बुटवलका मेयर शिवराज सुवेदीले जटिबुटीसहितको आयुर्वेदिक औषधी र स्वास्थ्यलाभको पत्र बोकेर घरघरमा पु¥याइरहेका छन् ।

बुटवल उपमहानगरपालिकाका उपप्रमुख गोमादेवी आचार्यले अस्पताल, भारतीय मजदुर र बैंकमा रहेको नगदबाट बुटवल कोरोना फैलिएको बताइन् ।

बुटवल वडा नम्बर १६ मा भेटिएका संक्रमित भरतपुर अस्पतालबाट फर्किएका थिए । त्यस्तै वडा नम्बर १५ मा भेटिएका संक्रमित भारतीय मजदुर हुन् । उपप्रमुख आचार्यले अहिले संक्रमण पुष्टि भएकाहरूको कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब परीक्षण गर्दै आएको बताइन् ।

सेतो पाटीबाट