माघ ११ हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगबाट स्वीकृत भएको प्रारम्भिक मतदाता नामावली प्रकाशन गरिएको छ। उक्त निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुने कानूनी व्यवस्था भए बमोजिम प्रदेश सभा सदस्य 545 जना र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख 1498 जना गरी जम्मा 2043 जनाको प्रारम्भिक मतदाता नामावली स्वीकृत भएको छ। स्वीकृत नामावलीमा प्रदेश सभा सदस्यमध्ये अदालतको आदेश बमोजिम पदमुक्त भएका एक जना र निलम्बनमा परेका चार जना गरी जम्मा पाँच जना प्रदेश सभा सदस्य तथा स्थानीय तहका पदाधिकारीमध्ये निधन भएका एक जना र निलम्बनमा रहेका सात जना गरी जम्मा आठ जना स्थानीय तहका पदाधिकारीको नाम मतदाता नामावलीमा समावेश गरिएको छैन।
आयोगबाट कार्तिक ३० गते प्रकाशन गरिएको राष्ट्रिय सभा सदस्य निर्वाचन, 2082 को निर्वाचन कार्यक्रम बमोजिम मतदाता नामावलीसम्बन्धी अन्य क्रियाकलाप सञ्चालन हुनेछन्। उक्त कार्यक्रम बमोजिम आगामी पुष २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ।
पुनश्च: उल्लिखित मतदातामध्ये प्रदेश सभाका सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ रहेको समेत रहेको आयोगले जानकारी गराईएको छ।

