पहिचानका आधारमा प्रदेशको नाम राख्न नसके अर्को संसदलाई जिम्मा दिनुपर्ने हुन्छ

५ साउन, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नाम लिम्बुवान किरात राख्नुपर्ने माग गर्दै पुगेको पहिचान पक्षधर ३२ वटा संघसंस्थाको ज्ञापनपत्र बुझ्दै पहिचानका आधारमा प्रदेशको नाम राख्न नसके अर्को संसदलाई जिम्मा दिनुपर्ने बताएका छन् ।

मुख्यमन्त्री राईले राम्रो नाम दिन नसके नाम राख्ने जिम्मा अर्को समितिलाई दिनुपर्ने बताएका हुन् ।

प्रदेश १ को चालु अधिवेशनबाटै नाम राख्ने गरी दलहरु छलफलमा छन् । तर नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादीलगायत प्रमुख दलको अलग अलग धारणा छ । नामका विषयमा छलफलका लागि साउन ८ गते प्रदेशसभाकोे बैठक बोलाइएको छ ।

‘एकदमै नेगेटिभ नाम राख्नुभन्दा नराख्नु राम्रोे हो, यसमा स्पष्ट छु, यो कुरा लुकाएर वा खुसुक्क भन्ने होइन,’ उनले भने,‘‘पछि म जस्ताको इतिहास कतिको पढिन्छन् लेखिन्छन्, तर पढिन्छ लेखिन्छ भने म जस्ताले कता उभियो, के भूमिका खेल्यो भनेर संसारले थाहा पाउनुपर्छ ।’

मुख्यमन्त्री राई पहिचानका आधारमा नाम राख्नुपर्ने पक्षमा छन् । उनले राम्रो नाम भनेर पहिचानको आधारमा नामाकरण हुनुपर्नेतर्फ संकेत गरेका हुन् । ‘नराम्रो नाम लेखिनु भन्दा अहिलेलाई नलेखेर अर्को संसदलाई छाड्दिनु राम्रो हुन्छ,’ उनले भने ।

मुख्यमन्त्री राईले पालिकाहरुको नाम पनि पहिचानका आधारमा राखेको उल्लेख गर्दै प्रदेशको नाम पनि पहिचानका आधारमा राख्नुपर्ने बताए ।